विराटनगर ४ वैशाख । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ ।
गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थको सेवनसँगै बिक्रीवितरणमा समेत निषेध गरेको छ । सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नुका साथै महानगरले माइकिङसमेत गरेर सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नगर्न आग्रह गर्दै आएको छ । निर्णय उल्लंघन गरेर बिक्रीतिवरण गर्ने गरेको पाइएपछि महानगरको टोलीले सुर्तीजन्य पदार्थ जफत गर्न सुरु गरेको छ । निर्णय कार्यान्वयनका लागि महानगर कडाइ रुपमा प्रस्तुत भएको छ ।
आज महानगरले ६ वटा शाखा र महाशाखा प्रमुखको नेतृत्वमा टोली परिचालन गरेर अनुगमन गरेको छ । आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलको नेतृत्वमा वडा नम्बर १, २, ३ र १९, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको नेतृत्वमा वडा नम्बर ४, ५ र ६ र राजस्व महाशाखा प्रमुख सरोजकुमार गौतमको नेतृत्वको टोलीले ७, ८ र ९ नम्बर वडास्थित सार्वजनिकस्थलको अनुगमन गरेको छ । त्यसैगरी सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालको नेतृत्वमा १०, १४ र १८, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीको नेतृत्वमा १३, १५ र १७ तथा महानगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वको टोलीले ११, १२ र १६ नम्बर वडाको अनुगमन गरेको थियो । निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न टोली नै परिचालन गरेर अनुगमन गरिएको प्रमुख नागेश कोइरालाले बताउनुभयो । विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिरदेखि एक सय मिटर वरपर भने सुर्तीजन्य ऐनले नै सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र खुल्ला रुपमा बिक्रीवितरण र सेवन गर्न नपाउने नगरसभाको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगर लागिपरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो । यसैबीच, महानगरले यसअघि निर्णय गरेको शनिमन्दिरदेखि अस्पतालचोकसम्मको सडकलाई मंगलबारदेखि पार्किङ निषेध गर्ने भएको छ ।
त्यसका लागि पार्किङस्थललाई व्यवस्थित गर्ने कार्य भइसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।