एनबीएससी ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर २ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै सुमह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ ।

आइतबार हुने फाइनलमा उपाधिको लागि विभागीय टिम नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट तीन टिमलाई जित्दै फाइनलमा पुगेको हो । शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो । एनबीएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १८७ रनमा समेटियो । पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका हिर्काउँदै ४५ रन बनाए । अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए । दिलिपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का र २ चौका प्रहार गरे । प्रेम तामाङ्गले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए । पुलिसका अरु ब्याटरले दोहोरो अंक छुन नसक्दा लिगको अन्तिम खेलबाट बाहिरन बाध्य भयो ।

एनबीएससीका विधान गोस्वामीकोे घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राहुल चौधरी, अुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए । यसअघि एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । यसअघि भएको पहिलो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले पहिलो जित निकालेको छ ।

दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो जित दर्ता गराउँदै समूह ‘ख’ मा तेस्रो भयो भने पाहुना टोली दिल्लीले लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो । सुदुरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रनको विशाल योगफल खडा गरेको थियो ।