विराटनगर, २७ चैत । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन । राजधानीमा पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेका हुन ।
गठबन्धनको सरकारले समयानुकुल आर्थिक अवस्थालाई पहिचान गरी बजेट तथा मौद्रिक नीति नल्याउँदा अहिले आर्थिक संकट आइपरेको उनीहरुको आरोप छ ।
एमालेका पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र डा. युवराज खतिवडाले संयुक्त जारी गरेको वक्तव्यमा सरकारले बजेट ल्याउन ढिलाइ गरी मौद्रिक नीतिसमेत ढिला आएको कारण अहिले मुलुकले आर्थिक संकटको त्रास झेल्नु परेको उल्लेख छ । संकटउन्मुख अवस्थामा सरकाले आफ्ना गल्ती ढाकछोप गर्न गभर्नरको निलम्बन गर्नु निन्दनीय विषय भएको उनीहरूको आरोप छ ।
उनीहरूले वर्तमान अर्थमन्त्रीलाई अराजक भएको समेत आरोप लगाएका छन । अराजक अर्थमन्त्रीको गलत कदममा प्रधानमन्त्रीले साथ दिएको समेत उनीहरूको आरोप छ ।