विराटनगर २९ चैत । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा शुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरवीच मंगलबार सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिनुभयो ।
कलेजो र मृगौला प्रत्यारोपण नेपालमा शुरु भईसकेको भएता पनि आवश्यक्ता भन्दा अति कम संख्यामा प्रत्यारोपण सेवा उपलब्ध भएको र मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलाइसिस सेवा समेत पाउन नसक्ने अवस्थालाई मध्यनजर गरि मृर्गाैला प्रत्यारोपण सेवा शुरु गर्ने तयारी गरिएको विकास समितिका सदस्य बुढाथोकीले बताउनुभयो । सेवा सञ्चालनका लागि मंगलबार सम्झौता भएकाले चाँडै सेवा शुरु गर्ने गरि तयारीमा लागि सकेको उहाँले बताउनुभयो । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण सेवाको थप विस्तार र सातवटै प्रदेशमा प्रत्यारोपण तथा डायलाइसिस सेवा विस्तार गर्ने उचित व्यवस्था गराउने प्रयोजनका लागि मृगौला फेल भएका विरामीहरुको लागि मृर्गाैला प्रत्यारोपण सेवा शुभारम्भ गर्न तथा डाइलाइसिस सेवा विस्तार गर्नको लागि सहकार्य गर्न प्रतिवद्ध रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।
सम्झौता अनुसार मृर्गाैला प्रत्यारोपण सेवाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, फेलोसिप लगायत शैक्षिक कार्यक्रमको लागि व्यवस्था गर्ने छ । त्यसैगरि मस्तिष्क मृत्युबाट हुने अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन पनि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ । कोशी अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. रविनराज सिंह र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
नेपालको करीव ७० प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेको छ । जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा हरेक वर्ष करीव ३ हजार जनाको मृगौला फेल र १ हजार जनाको कलेजो फेल हुनेको विभिन्न अध्ययनले देखाएको छ ।
कोशी अस्पतालमा महेश भट्टराई नेतृत्वको विकास समितिले अस्पतालको व्यापक सुधार गरिरहेको छ । अस्पतालमा विभिन्न उपचार सेवाहरुको विस्तार, कवाडी सामग्रीहरुलाई मर्मत गरेर अस्पताल वेड निर्माण, अस्पताल भित्रको सफाई, भौतिक पूर्वाधार निर्माण लगायतका काममा विकास समिति सक्रिय बनेको छ । अध्यक्ष भट्टराईले कोशी अस्पतालमा जनशक्ति अभावको समस्या पनि चाँडै समाधान हुने प्रक्रियामा रहेको बताउनुभयो ।