विराटनगर, २७ चैत । होमियोपैथिक र आयुर्वेदलाई समेटेर जनताको स्वास्थ्य उपचार सेवामा लाग्नु पर्ने विचार व्यक्त्त गरिएको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र नेपाल होमियोपैथिक चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा विश्व होमियोपैथिक दिवस–२०७९ को उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले स्वास्थ्य मन्त्रालयमा होमियोपैथिक डेक्स स्थापनाका लागि ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला तावा लिम्वुले होमियोपैथिकबाट नागरिकलाई वढी भन्दा वढी सेवा उपलव्ध गराउन हामीहरु गम्भिर हुनु जरुरी रहेको विचार राख्नु भयो । उहाँले मन्त्रालयको नीति नियम र कानून मिले अनुसार होमियोपैथिक चिकित्सक सङ्घको माग सम्वोधन गर्ने बताउनु भयो ।
सङ्घका केन्द्रीय अध्यक्ष डा रविन्द्रकुमार राय,सागर प्रसाई, बैजनाथ साहले प्रदेशमा ५० शैय्याको होमियोचिकित्सा अस्पताल निर्माण गर्नका लागि आग्रह गर्नुभयो । प्रदेशमा होमियोपेथिकका चिकित्सक र सहायक गरि जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र जामुनगाछी विराटनगर, मदन भण्डारी ट्रमा सेन्टर मंगलवारे मोरङ र मेचि प्रादेशिक अस्पताल झापामा एक–एक जना कार्यरत रहेका छन् ।