विराटनगर २७ चैत । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको छ । सम्भवतः चैतभित्रै नतिजा सार्वजनिक गर्ने पालिकामध्ये विराटनगर महानगरपालिका पहिलो भएको कोइरालाको भनाइ छ । “मोरङमा चाहिं १७ वटा पालिकामध्ये विराटनगर महानगर कक्षा ८ को नतिजा सार्वजनिक गर्ने पहिलो भएको छ,” कोइरालाले भन्नुभयोे, “मलाई लाग्छ देशका अन्य पालिकाले पनि अहिलेसम्म नतिजा सार्वजनिक गरेका छैनन् ।
शैक्षिक प्रशासन महाशाखाको सक्रियता कारण छिटो र छरितो रुपमा नतिजा सार्वजिक भएको महानगरका सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका विराटनगर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताउनुभयो । परीक्षामा निजी र सामुदायिक गरी १ सय २२ विद्यालयका ५ हजार १०४ जना विद्यार्थी सहभागी भएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।