विराटनगर २७ चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ ।
गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उहाँको भनाइ छ ।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणका विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बताउनुभयो । उहाँले महानगरले सरसफाई, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाउनुभयो ।
पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुखको भनाइ छ । उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । प्रेसर हर्न बजाउन निषेध गर्दा कोलाहललाई कम गरी शान्त र सभ्य सहरका रुपमा विराटनगर स्थापित हुने कार्कीले बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ट्राफिक प्रहरीसँगको सहकार्यमा वैशाख १ देखि प्रेसर हर्न निषेध गर्ने तयारी गरिएको जानकारी दिनुभयो । महानगरले वैशाख १ देखि नै सार्वजनिकस्थलहरूमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गरेको छ ।