राजविराजले जित्यो टी–२० मेयर कपको उपाधि

विराटनगर, २६ चैत । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले हात पारेको छ ।

विराटनगर महानगरपालिका–१९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि उचालेको हो । उपाधि भीडन्तमा टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रनको स्कोर खडा गरेको थियो । त्यस क्रममा राजविराजका लागि विवेक यादव २१ र पूर्वअन्र्तराष्ट्रिय खेलाडी महबुब आलम १४ रन बनाउन सफल भए । जनकपुरका लागि ‘सटिक बलिङ’ गर्ने क्रममा साइमन रोयले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिएका थिए । राजविराजको किफायती बलिङ सामु निर्धारित लक्ष्य पछ्याएको जनकपुरको केही लागेन । जनकपुर ६ विकेटमा ८७ रनमा अल आउट भयो ।

जनकपुरका लागि विशाल सुसबैनले ३० बलमा सर्वाधिक ३३ रन बनाए । जनकपुरलाई अन्तिम ओभरसम्म रन रोक्दै पराजयतर्फ धकेल्नका लागि विकास दास र विवेक यादवले सटिक बलिङ गरेका थिए । क्रिजमा जनकपुरका खेलाडी जम्न नदिने क्रममा विकासले ४ ओभरमा २२ खर्चिएर ३ विकेट र विवेकले ४ ओभरमा १६ दिँदै २ विकेट लिए । २१ रन र २ विकेट लिएका विवेक प्लेयर अफ दी म्याच घोषित भए । राजविराजले उपाधिसँगै १ लाख रूपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेतामा खुम्चिएको जनकपुरले ५१ हजार रुपैयाँमै चित्त बुझाउनु पर्यो । प्रतियोगितामा राजविराजका विकास दास उत्कृष्ट ब्याट्सम्यान, राजविराजकै अनिल यादव उत्कृष्ट बलर र जनकपुरका हरिशंकर साह प्लेयर अफ दी सिरिज घोषित भए । प्रतियोगितामा ५८ रन बनाएका हरिशंकरले कूल ७ विकेट लिएका थिए ।

विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लवको संयोजनमा गत २२ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा प्रदेश १ का विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, मेची नगरपालिका तथा मधेस प्रदेशका वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका र राजविराज नगरपालिका गरेर ६ वटा टिमले सहभागिता जनाएका थिए ।