महिला शशक्तिकरणमा ओरेकको भूमिका महत्वपूर्ण : उपसभामुख

विराटनगर २० चैत । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले महिला शशक्तिकरणको क्षेत्रमा ओरेक नेपालको भूमिका महत्वपूण रहेको बताउनु भएको छ । उहाँले हिंसा पीडितलाई समाजमा पुर्नस्थापना गराउन ओरेक क्रियाशिल रहेको   बताउनुभयो ।

ओरेक नेपालको ३२ औं बार्षिकोत्सवका अवसरमा आईतबार विराटनगरमा आयोजित कार्यक्रममा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ महिला शशक्तिकरणका कारण महिलाहरू नेतृत्वमा पुगेर सक्षम नेतृत्व दिईरहेका छन् । यसमा ओरेक जस्ता गैरसरकारी संस्थाहरुको महत्वपूर्ण देन छ ।’ तीन तहका सरकारले गरेका काम पनि नागरिकलाई बुझाउन आवस्यक रहेको उहाँले बताउनुभयो । यसमा गैररसरकारी क्षेत्रको महत्वपूर्ण साथ आवस्यक रहेको उहाँको जोड छ । तीन तहका सरकारले गरेका कामबारे स्थानीय स्तरमा बुझाउन सके संघीयतालाई बलियो बनाउन सहयोग पुग्ने उहाँको भनाई छ । जिविकोपार्जन, सीप विकास, नेतृत्व विकास गरि समाजको योगदानमा केही न केही हिस्सा गैससले गरेको उहाँको दावी छ ।

जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झाले हिंसा न्युनिकरणका लागि ओरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले ओरेकलाई राम्रा कार्यक्रमलाई थप समाजमा व्यापक बनाउन अग्रह गर्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले ओरेकले हिंसा प्रभावित, पीडितको क्षेत्रमा उल्लेख्य काम गरिरहेको बताउनुभयो । साक्षरता बढेपनि हिंसा घट्न नसक्नु दुखत् भएको पोरेलले बताउनुभयो । मोरङमा दर्ता भएका संख्याका आधारमा गैससहरुले सामाजिक क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सिमितले मात्रै काम गरिरहेको अवस्था छ । नविकरण पनि कम संस्थाहरुले गरेका छन् ।’ ओरेक सल्लाहकार मञ्जिता उपाध्यायले ओरेकले परियोजनामा आधारित मात्रै नभएर अभियानमा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो । महिला शशक्तिकरणमा ओरेकको भूमिका महत्वपूर्ण रहेको उपाध्यायले बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका निर्देशक पवन भट्ट, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु पन्त आचार्र्य, नेपाल पत्रकार महासंघ मोरङ सचिव नेत्र पी अधिकारीे, केराबारी गाउँपालिका पूर्व उपाध्यक्ष शान्ति भुजेल लिम्वु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।