कोशी अस्पतालमा पहिलो पटक ७ बर्षीय बालकको टाउको खोलेर शल्यक्रिया

विराटनगर २० चैत । कोशी अस्पताल विराटनगरले पहिलो पटक टाउको खोलेर मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो ।

अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको नेतृत्वको चिकित्सकीय टिमले राजभारको मस्तिष्कमा दुई हप्तादेखि गाडिएको हड्टी डेढ घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । राजभारलाई खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । आर्थिक अवस्था नाजुक रहेको राजभार परिवारले उपचार गर्ने खर्च नभएपछि झण्डै एक हप्ता घरमै बलवीरलाई राखेका थिए ।

बलवीरको टाउको अत्यधिक दुखेर पीडा हुन थालेपछि मात्रै ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आएका थिए । ७ बर्षीय बालकको अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गरेको हो । न्यूरो सर्जन डा. यादवको नेतृत्वको टोलीले राजभरको डेढ घण्टा लगाएर सफल शल्यक्रिया गरेको छ । टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट सह प्राडा रविन राज सिंहले बताउनुभयो । आर्थिक रुपमा विपन्न परिवारले उपचार खर्च नभएको बताएपछि अस्पतालले शल्यक्रियादेखि उपचार खर्च पनि निःशुल्क गरेको उहाँले बताउनुभयो ।

यसैवीच न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति र उपकरणहरुको अभाव रहेको चिकित्सकहरुले बताएका छन् । कोशीमा न्यूरो सर्जरीको दरबन्दी एक जना रहेको छ । उक्त दरबन्दी पदपूर्ती भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुदाँ समस्या भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

कोशी अस्पतालका निमित्त मेसु सिंहले २० वर्ष अगाडी देखिको दरबन्दी अनुसार अहिले काम भइरहेको बताउनुभयो । उहाले भन्नुभयो,‘त्यो बेला विरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडमा ५ देखि ६ सय विरामी हुने गरेको थियो । ’ अहिले दैनिक ओपीडिमा १५ सय देखि २ हजारसम्म विरामी आउने गरेका छन् । पुरानो दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।