विराटनगर, १४ चैत । कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत समूहसँगको झडपमा १५ प्रहरी घाईते भएका छन् । पहिचान पक्षधरको प्रदर्शनपछि सुरक्षाकर्मीसँग आज दिउँसो झडप भएको हो । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा र इँटाले लागेर नेपाल प्रहरीका डीएसपी (प्रहरी नायव उपरीक्षक)सहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
घाइते हुनेमध्ये १२ जना नेपाल र ३ जना सशस्त्र प्रहरी छन् । नेपाल प्रहरीतर्फ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर (प्रहरी निरीक्षक) रोहित शर्मासहित १२ जना घाइते भएका हुन् । सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएका छन् । घाइतेको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिनु भयो । झडपमा परेर नेपाल र सशस्त्र प्रहरी गरेर १५ जना सुरक्षाकर्मी घाइते भएको उहाँले बताउनु भयो ।
आन्दोलनकारी उत्तेजित भए पनि सुरक्षाकर्मीको संयमताकै कारण ठूलो क्षति हुन नपाएको डीएसपी दाहालको भनाइ छ । उहाँका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास र १७ राउण्ड हवाईफायर भएको छ । सशस्त्रले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । लगभग डेढ घण्टाजति प्रदर्शन गरेपछि कोणसभा गरेर आन्दोलनकारी फर्किएका छन् । प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी खारेज हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।
प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नामकरण गरेर कोसी नाम राखेको हो । नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भयो । त्यस क्रममा पहिचान पक्षधर पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो । आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।