पार्किङ व्यवस्थापनमा विराटनगर महानगर आक्रमक रुपमा प्रस्तुत

विराटनगर १२ चैत । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो ।

ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाएउनुभयो । महानगर प्रहरीसहित पुगेका प्रमुख कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिनुभयो । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो ।

महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई प्रमुख कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो ।