न्युजिल्याण्डबाट उडेको रकेटको टुक्रा चन्द्रपुरमा खस्यो !

गत शनिवार अर्थात् अप्रिल २ को बेलुकी भारतको महाराष्ट्रस्थित चन्द्रपुरको आकाशबाट आगोको डल्लाहरु भुइँमा गिरे ।

सुरुमा मानिसहरुले यो कुनै उल्कापिण्ड भएको आशंका गरे । तर जब भोलिपल्ट बिहान गाउँलेहरुले आगोको डल्ला खसेको ठाउँमा केही अज्ञात उपकरण तथा टुक्राहरु फेला पारे तबमात्र थाहा भयो कि त्यो उल्कापिण्ड नभई कुनै रकेटको टुक्रा हो ।

ती टुक्रामध्ये १० फिट व्यासको गोलाई भएको एक धातुको टुक्रा तथा बल आकारको एक यन्त्र पनि रहेको छ । ठूलो धातुको टुक्राको वजन ४० किलो छ । त्यो फलामको हो ।

शनिवार बेलुकी ७ बजेपछि आकाशबाट उल्कापिण्ड जस्तो आगोको गोला जमिनतर्फ तिव्र गतिमा खसिरहेको चन्द्रपुरको दृश्य महाराष्ट्रका विभिन्न ठाउँबाट देखिएको थियो । उक्त गोला चन्द्रपुर जिल्लाको लाडबोरी गाउँमा खसेको थियो ।

कहाँबाट कुन उद्धेश्यले प्रक्षेपण गरिएको रकेटको टुक्रा त्यसरी गाउँमा आएर खस्यो भन्ने बारेमा अनेक अड्कलबाजी भैरहे । चन्द्रपुर स्काइ वाच ग्रुपका अध्यक्ष प्राध्यापक सुरेश चोपनेका अनुसार शनिवार बेलुकी सबा ६ बजे न्युजिल्याण्डको माहिया टापुबाट रकेट ल्याब कम्पनीले इलेक्ट्रोन रकेट प्रक्षेपण गरेको थियो । उक्त रकेटमा ब्लाकस्काइ इनकर्पोरेसनको स्याटेलाइट राखिएको थियो, जुन पृथ्वीको तल्लो कक्ष अर्थात् ४३० किलोमिटर माथि छाडियो ।

उनका अनुसार उक्त धातुको छल्ला रकेटको कुनै भागको टुक्रा हो भने गोलाकार यन्त्र रकेटको बुस्टरको भाग हुनसक्दछ । वायुमण्डलमा आएसँगै रकेटको उक्त हिस्सा जलेर लाडबेरी गाउँमा खसेको हो ।

स्मरण रहोस् गतवर्ष पनि चीनको एक अनियन्त्रित रकेट न्युजिल्याण्ड नजिकैको समुद्रमा खसेकोथियो । जसको अन्तराष्ट्रियस्तरमा निकै विरोध भएको थियो । चन्द्रपुरमा खसेको धातुको यन्त्र न्युजिल्याण्डको इलेक्ट्रोन रकेटको हिस्सा हो कि होइन भन्ने कुराको अनुसन्धान हुन भने बाँकी छ ।
एजेन्सी