शिक्षादीपकी अदिती जैन एमबीबीएसको प्रवेश परीक्षामा नेपाल प्रथम

विराटनगर २ चैत । शिक्षादीप माध्यमिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सो विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकालेकी थिइन् ।

जैन कुुल करिब १८ हजार परीक्षार्थीहरु मध्ये चौथो तथा छात्राहरुमा प्रथम स्थानमा आएकी हुन् । पूर्व विद्यार्थी जैन र उनका बुबा अजयकुमार जैनलाई आज विद्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष एवम् कोशी प्रदेश सभाका सांसद भीम पराजुलीले सम्मानित गर्नुभयो । सम्मानित भएपछि जैनले कक्षा ११ र १२ को पढाइ भविष्य निर्माण गर्ने र जीवनलाई सुखद बाटोमा लगाउने महत्वपूर्ण भएकाले सही विद्यालय छनौट गरी मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो । आफ्नो सफलताप्राप्त गर्न शिक्षादीप विद्यालय परिवारले महत्वपूर्ण मार्गदर्शन तथा योगदानदिएको उहाँले स्मरण गर्नुभयो । विद्यालयका अध्यक्ष तथा प्रदेश सांसद पराजुलीले विद्यालय १५ वर्षको उमेरमा हिँडिरहँदा हरेक वर्ष ऐतिहासिक र कीर्तिमानी रहेको बताउनुभयो ।

शिक्षादीप विद्यालयले २०६५ सालदेखि विज्ञान र वाणिज्य विषयमा कक्षा ११ र १२ कार्यक्रम चलाउँदै आएको छ । यस वर्ष चिकित्सा शिक्षा आयोगले फागुन २४ गते एमबीबीएसको प्रवेश परीक्षा लिएको थियो र बुधबार परिणाम सार्वजनिक भएको हो ।

शिक्षादीपबाट कति विद्यार्थीहरुले नाम निकाले यकिन भइनसकेको र सम्पूर्ण सूचना संकलित भएपछि सफल हुने अरु विद्यार्थीहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताउनुभयो ।