डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो

विराटनगर १ चैत । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो ।

बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए । अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताउनुभयो । यस्तै सरकारले यस अघि वद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीले बजारमा बिक्री गर्ने चार प्रकारका प्याकेटको दूधको मूल्य निर्धारण भने संस्थानको बोर्ड बैठक सकिएपछि थाहा हुने बताउनुभयो ।

हाल संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अधिकारीकाअनुसार सबै दूधमा प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने देखिन्छ । तर, ठ्याक्कै कति बढ्यो भन्ने साँझसम्म मात्रै थाहा हुने उहाँले बताउनुभयो ।