लैंगिक हिंसा निवारणका कार्यक्रमहरु तल्लो तह सम्म पुग्न आवस्यक : उपप्रमुख कार्की  

विराटनगर ३० चैत । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले लैंगिक हिंसा निवारणका लागि सञ्चालित कार्यक्रमहरु तल्लो तह सम्म पुग्न नसकेको बताउनुभएको छ । लक्षितवर्गका कार्यक्रमहरु संघ संस्था र पार्टी प्यालेसहरुमा केन्द्रित हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँको भनाई छ ।

कार्यक्रमहरु तल्लो तह सम्म नपुगेसम्म कार्यक्रमको सफलता नदेखिने उहाँको भनाई छ । भिएसओसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले विराटनगरमा आज आयोजना गरेको लैंगिक हिंसा निवारणका लागि सरोकारवालावीचको अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कार्कीले सो कुरा बताउनु भएको हो । विराटनगर महानगरपालिकाले अहिले किशोरीहरुका समस्याहरु नजिकबाट बुझ्ने काम गरिरहेको उहाँले बताउनुभयो । महानगर क्षेत्र भित्रका एक दर्जन सामुदायिक विद्यालयका छात्राहरुसँग उनीहरुका समस्याहरु बुझ्ने काम भएको उहाँले बताउनुभयो । किशोरीहरुले घरमा विवाहका लागि दवाव दिने गरेको, घरमा पठन पाठनको वातावरण हुन सकेको, हरेक दिन झगडा गरेर विद्यालय आउनुपर्ने अवस्था भएको, शिक्षकहरुबाट नराम्रो व्यवहार हुने गरेको आफु समक्ष जानकारी गराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ किशोरीका समस्या बुझेपछि संवन्धित शिक्षक तथा अभिभावकसँग पनि अप्रत्यक्ष रुपमा आफुले बुझ्ने काम गरेको छु ।’ विद्यालयमा किशोरीका समस्या विकराल देखिएपछि महानगरले निरन्तर रुपमा यस्तो प्रकृतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले प्रदेश सरकारले किशोरी सशक्तिकरणका लागि गौरवको आयोजना सञ्चालनको तयारी गरिएको बताउनुभयो । उहाँले तीन वर्षे कार्यक्रमका लागि संघीय सरकारसँग आवस्यक बजेट माग गरिएको समेत बताउनुभयो । सामाजिक विकास मन्त्रालयले किशोरी लक्षित थुप्रै कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका निर्देशक पवन भट्टले लैंगिक हिंसा निवारणका लागि एकद्धार रुपमा कसैले पनि कार्यक्रम गर्न नसकेको बताउनुभयो । सवैले आफ्नो तरिकाले कार्यक्रमहरु सञ्चालन गर्दा समस्या भएको उहाँको भनाई छ ।

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले लैंगिक हिंसा निवारणका लागि सरोकारवालाहरुवीच छलफल आवस्यक देखिएको बताउनुभयो । उहाँले लैगिंक हिंसा निवारणका लागि तीनै तहको सरकारवीच समन्वय भएर कार्य हुन आवस्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा लैंगिक हिंसा निवारणको क्षेत्रमा कार्यरत संघसंस्था प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।