विराटनगर २९ फागुन । विराटनगर २ मा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् । फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । प्रहरी उपरीक्षक पोखरेलले बचत फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न आग्रह गर्नुभयो ।
१५ प्रतिशतसम्म ब्याज दिने भन्दै सहकारीले लोभ देखाएपछि एक बचतकर्ताले एक करोडसम्म बचत गरेका छन् । सहकारी नै टाट पल्टिएपछि सर्वसाधारणको बचत जोखिममा परेको छ । सहकारीबाट विराटनगरमा मात्रै ५० करोड भन्दाबढी रकम सर्वसाधरणबाट संकलन गरेको प्रहरीको दाबी छ ।
झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहामा भएको कार्यालय बन्द छन् । फागुन १ गतेबाट सहकारीले सञ्चालन गरेको अन्य व्यवसाय पनि बन्द छन् ।
जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । सहकारीबाट विराटनगर महानगरपालिका भित्र मात्रै ४ हजार जना भन्दा बढी ठगिएका छन् ।