राष्ट्रपति निर्वाचनको तयारी पूरा, भोलि साँझ नै मत परिणाम सार्वजनिक हुने

विराटनगर, २४ फागुन । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको छ ।

आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्काे मतदान केन्द्र बनाइएको हो । निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् । मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन ।

यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ । निर्वाचन अधिकृत महेश शर्मा भन्नुहुन्छ, ‘४ बजेबाट मत गणना सुरु गर्ने र साँझ ७ बजे मत परिणाम घोषणा गर्ने तयारी छ ।’