विराटनगर २२ फागुन । झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार विनोद सुवेदी पुरस्कृत भएका छन् । नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषले आइतबार मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाटको सरस्वती माविमा आयोजित कार्यक्रममा झीलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
वरिष्ठ पत्रकार शंकर लुइँटेलले आमा झीलकुमारी लुइँटेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारका राशि ११ हजार रुपैयाँ रहेको छ । कार्यक्रममा कोसी प्रदेशका प्रदेशसभा सदस्य अमृत अर्याल, नारदमुनी पवित्रादेवी लुइँटेल स्मृति कोषका संरक्षक छत्रपति लुइँटेल, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले नगद तथा सम्मानपत्रले सम्मानित गरे ।
कार्यक्रममा विद्यालयका ३ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सरस्वती माविका कक्षा १० मा अध्ययनरत सागर खतिवडालाई ५ हजार कक्षा १० कै सरोज सरदारलाई ३ हजार र कक्षा ८ की अस्मिता मुडियारीलाई ३ हजार रुपैयाँ राशिको छात्रवृत्ति प्रदान गरियो ।