‘जीवनको मन्त्र’ कविता वाचन गरेर खतिवडा प्रथम

विराटनगर २१ फागुन । विराटनगरस्थित विह्याण्ड द हार्टले आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवनको मन्त्र’ शीर्षकको कविता वाचन गरेर संगीता खतिवडा प्रथम  भएकी छन् ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कविहरुलाई पछि पार्दै खतिवडाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजार १ सयसहित विभिन्न उपहार प्राप्त गरिन् । त्यस्तै ‘तिमी खास हौ’ शीर्षकको कविता वाचन गरेर कौशल साह द्वितीय, ‘एण्ड एनोसेन्स चायण्ड’ शीर्षकको अंग्रेजी भाषाको कविता सुनाएर क्रिताञ्जली श्रेष्ठ तृतीय भइन् । उनीहरुलाई क्रमशः ३ हजार १ सय र १ हजार १ सयसहित विभिन्न उपहार प्रदान गरिएको थियो । त्यस्तै ‘शब्द’ शीर्षकको कविता वाचन गर्ने विनिशा खुलाल, ‘आजके नारी’ शीर्षकको कविता वाचन गर्ने उमा चौधरी र ‘शिशु हत्या’ शीर्षकको कविता वाचन गर्ने मुरलीधर अग्रवालले सान्त्वना स्थान प्राप्त गरेका थिए । कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ र कवि यादव प्रधानको निर्णायक समितिले कार्यक्रममा वाचन गरिएका कवितामध्येबाट पुरस्कृतको नाम छनौट गरेको थियो ।
कार्यक्रममा नेपाल, अंग्रेजी, हिन्दीलगायतका भाषामा कविता वाचन भएको आयोजक संस्थाका अध्यक्ष प्रेम पारखले जानकारी दिए । युवामा साहित्यप्रति आकर्षण गराउने र सिर्जनात्मक कार्यक्रम लाग्न अभिप्रेरित गराउने उद्देश्यले गत वर्षदेखि कविता प्रतियोगिता आयोजना सुरु गरेको उनले बताए । कार्यक्रममा आदर्श मन्दिरका अध्यक्ष सुरेश शर्मा, कार्यक्रम संयोजक रिया कठेत, राहुल अग्रवाललगायतले कार्यक्रमको महत्व र उपादेयताका विषयमा चर्चा गरेका थिए ।