विराटनगर २१ फागुन । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।
सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् ।
सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा मिचेर बनाएका घर र टहरासमेत महानगरले हटाउने अभियानलाई जारी राखेको छ ।
विराटनगर–७ स्थित हाटखोला चोकदेखि सिंघिया पुलसम्मको संरचना हटाउन तीनवटा डोजरसहित महानगरको टोली पुगेको थियो । महानगरको टोली पुग्दा स्थानीय बिहानैदेखि सडक मापदण्डमा परेका टहरासहितका संरचना हटाइरहेका थिए । त्यसपछि महानगरको टोलीले आरोहण गुरुकुलको अगाडि संरचना हटाएको थियो ।
सो क्रममा स्थानीयले महानगरको अभियानमा साथ दिन तयार रहेको बताएका थिए । महानगरले सबैलाई समान व्यवहार गरे अभियानमा सदैव साथ रहने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए । विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर नागेश कोइरालाले आग्रह गर्दै आएका छन् ।