विराटनगर १९ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो ।
विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत वर्ष फागुनमै हस्ताक्षर गरेका थिए । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रमुख कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षणसमेत गराउनु भएको थियो । जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २ अर्ब ७ करोड अनुदान सहयोग उपलब्ध गराउनेछ । सो आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।
सो अवसरमा प्रमुख कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराउनुभयो । उहाँले जाइका निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने दाबी गर्नुभयोे । भेटमा विराटनगरको डुबान समस्या समाधानका लागि तटबन्ध निर्माणसहित शिक्षा र स्वास्थ्यका विषयमा समेत छलफल भएको महानगरका अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत रत्नाकर झाले बताउनुभयो ।
यसैबीच, प्रमुख कोइरालाले आज नै यूएसआईडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गरेका छन् । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाई, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुवात गरेको बताउनु भएको थियो । प्रमुख कोइरालाले स्थानीय सरकार सञ्चालन ऐनले तोकेका अधिकारहरु प्रयोग गरेर महानगरवासीको हितमा काम गरिरहेको सुनाउनुभयो ।