पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सम्झौता

विराटनगर १६ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भएको छ । आज शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको हो ।

दुई साताअघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता गरिएको उपकुलपति प्रा.डा.यादवराज कोइरालाले जानकारी दिए । कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर विश्वविद्यालयमा मेडिकल कलेज चलाउने प्रक्रिया अब अगाडि बढेको उहाँको भनाइ छ । अब चिकित्सा शिक्षा आयोगले सिट बाँडफाँड गरेपछि मेडिकल कलेजमा विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढ्नेछ । सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा.कोइरालाले हस्ताक्षर गर्नुभएको छ । यसअघि २०७८ माघमै कोसी अस्पतालले विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । त्यसको एक वर्षपछि गत माघ २३ गते मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको थियो । मेडिकल कलेज सञ्चालनका लागि न्युनतम् ३ सय बेडको अस्पताल चाहिन्छ ।

विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल नभएकोले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले कोशी अस्पतालमा अभ्यास गर्नेगरी सम्झौता गरिएको हो । २०५२ सालमा स्थापना भएको विश्वविद्यालयको लागि मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको ८०५ बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटाइएको थियो । २०६२ सम्ममा मेडिकल कलेज सञ्चालन गर्न ६० करोडको लगानीमा ९ वटा भवन निर्माण गरिएको भएपनि प्रयोगविहिन रहेका थिए । विश्वविद्यालयले चिकित्सक र ३५ जना स्टप नर्सलाई २०६६ सालमै नियुक्ति दिएर तलब खुवाउँदै आएको छ ।