विराटनगर १५ फागुन । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो । राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताउनुभयो । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उहाँले बताउनुभयो । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसकेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री हुनुहुन्छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक छ । एमाले र राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ । कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाको गठबन्धनको मत पनि (सभामुख बाहेक) ४६ नै पुग्छ । प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन । माओवादी केन्द्र र जसपा सरकारबाट बाहिरिए मुख्यमन्त्री कार्की अल्पमतमा पर्नेछन् ।प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।