विराटनगर, ९ फागुन । नेकपा (एमाले)का युवा नेता पर्शुराम बस्नेत (कृष्ण) नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष चुुनिनु भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा आज सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनु भएको छ । अरु पदाधिकारी र केन्द्रीय कमिटीमा रहनेहरुको टुंगो लाग्न बाँकी छ । खेलकुद महासंघ प्रदेश १ का निवर्तमान इन्चार्ज सन्तोष वान्तवाले बाँकी पदाधिकारीसहित केन्द्रीय कमिटीमा रहनेको टुंगो लगाउन केही समय लाग्ने जानकारी दिनु भयो । त्यसको टुंगो अध्यक्ष मण्डलले लगाउने उहाँको भनाइ छ । उहाँले महासंघको सांगठनिक संरचना अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ९ र कोषाध्यक्ष १ जना तथा अरु सदस्य रहने बताउनु भयो ।
‘महासंघको केन्द्रीय कमिटीमा प्रदेश १ र बाग्मतीबाट १५–१५ तथा अरु प्रदेशबाट ९–९ जनाको प्रतिनिधित्व रहने छ,’ वान्तवाले भन्नु भयो, ‘बाँकी समावेशी र खुला भूगोलबाट समेटिने छ ।’ नेकपा (एमाले)को भातृ संगठन खेलकुद महासंघको दोस्रो महाधिवेशन यही फागुन ७ गतेबाट विराटनगरमा सुरु भएको थियो । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नु भएको थियो ।