सामाजिक सेवा ऐन ल्याउन भूमिका खेल्छु : उपसभामुख दनुवार

विराटनगर ४ फागुन । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले सामाजिक सेवा ऐन ल्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

प्रदेश १ मा सामाजिक सेवा ऐन नआएकाले आफ्नो कार्यकालमा सो ऐन ल्याउनका लागि प्रभावकारी भूमिका खेल्ने उहाँले बताउनुभयो । गैरसरकारी संस्था महासंघ (गैसस) मोरङले विराटनगरमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि गैरसरकारी संस्थाको क्षमता अभिबृद्धि तालिमको विहीबार समापन कार्यक्रममा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले गैससहरुले दिगो विकासको लक्ष्य प्राप्तिमा महत्पूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । नागरिक समाज परिवर्तनको बहाक भएको उहाँको भनाई छ । उपसभामुख दनुवारले भन्नुभयो,‘ नागरिक समाज परिवर्तनको बहाक हो, हामीमा धर्यता हुन आवस्यक छ ।’

कार्यक्रममा गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले गैरसरकारी संस्थाले राज्यको कामलाई सघाउँदै आएको बताउनुभयो । उहाँले राज्यको ७५ प्रतिशत कामलाई गैससले सघाउँदै आएको बताउनुभयो । पछिल्लो समय गैरसरकारी संस्थाहरु समस्यामा पर्दै आएको उहाँले बताउनुभयो । अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुका परियोजना सकिदै गएपछि गैससका कामहरु घट्दै गएको उहाँले बताउनुभयो । मोरङमा अहिले एक सय संस्थाहरु क्रियाशिल रहेको उहाँको भनाई छ ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि गैरसरकारी संस्थाको क्षमता अभिबृद्धि तालिममा मोरङका ४० जनाको सहभागिता रहेको गैसस महासंघ मोरङ सचिव सरिता खनालले जानकारी दिनुभयो ।