विराटनगर ३ फागुन । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङको अध्यक्षमा विष्णु शर्मा पन्त निर्वाचित हुनु भएको छ । विराटनगरमा आज भएको १८ औं बार्षिक साधारणसभाले अध्यक्षमा पन्तलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
गत भदौमा गैसस मोरङ अध्यक्ष राजेन्द्र ढकाल १२ बर्षीय बालकलाई मैथुन गरेको आरोपमा पक्राउ परेपछि कार्यवहाक अध्यक्षको जिम्मेवारी शर्माले पाउनु भएको थियो । बुधबार विराटनगरमा सम्पन्न साधारणसभाले बाकी कार्यकालको अध्यक्षको जिम्मेवारी शर्मालाई दिने निर्णय गरेको सचिव सरिता खनालले जानकारी दिनुभयो । बार्षिक साधारसभामा सहसचिव नवराज निरौलाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम तथा योजना सर्वसम्मतले पारित गरेको छ ।
साधारणसभा उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । गैरसकारी संस्था महासंघ मोरङको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै प्रशंसा गर्नुभयोे । उहाँले महानगर नपुगेको कतिपय क्षेत्रमा पनि गैसस पुगेर कार्य गरिरहेको उहाँको भनाइ थियो । कोइरालाले सीमा क्षेत्रमा विशेष गरी मानव बेचविखनविरुद्धको अभियानमा गैससले राम्रो काम गरेको बताउनुभयो ।
जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झाले गैससहरुले स्थानीय सरकारसित सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । समाजको रुपान्तरणका लागि गैससको भूमिका महत्वपूर्ण रहेको बताउँदै झाले स्थानीय सरकारले गैसससित सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने विचार राख्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्ट, गैसस महासंघकी केन्द्रीय सदस्य सीता शर्मा, प्रदेश अध्यक्ष लखनलाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।