विराटनगर, २९ माघ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन प्रदेश १ को राजधानी विराटनगरमा हुने भएको छ ।
प्रजातन्त्र दिवसका दिन फागुन ७ गते हुने महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । महाधिवेशन आयोजनाको तयारीका बारेमा छलफल गर्न आज विराटनगरमा मूल समारोह समितिको बैठकसमेत बसेको थियो । त्यसलगत्तै आयोजक मूल समारोह समितिले पत्रकार सम्मेलन गरेर महाधिवेशनको ८० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको छ । समिति संयोजक नन्दा बस्यालले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न खेलकुद गतिविधिको आयोजना गरिने जानकारी दिनु भयो । उहाँका अनुसार नेकोस राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गर्ने छ । फागुन २ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन उप–प्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्ने बस्यालको भनाइ छ । उक्त प्रतियोगिताको समापन महाधिवेशन उद्घाटनकै दिन हुने छ । महाधिवेशनका अवसरमा महासंघले प्रथम संस्करणको केपी ओली रोडरेस (सडक दौड) प्रतियोगितासमेत आयोजना गरेको छ । नेकोस राष्ट्रिय एथ्लेटिक्स संघका केन्द्रीय अध्यक्ष अनिरूद्र चौधरीको संयोजकत्वमा हुने रोडरेसको उद्घाटन ओली स्वयंले गर्नु हुने छ ।
चौधरीका अनुसार रोडरेसमा प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार दिइने छ । त्यसबाहेक चौथो र पाँचौं हुनेले क्रमस ८ र ५ हजार नगद पुरस्कार पाउने उहाँले बताउनु भयो । महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतका अनुसार विशाल जनसभासहित आयोजना गरिने महाधिवेशनको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिताहरु हुने छन् । उहाँका अनुसार महाधिवेशन उद्घाटनका दिन कराँते, उसु, तेक्वान्डोलगायतका खेलहरु प्रदर्शन गर्ने तयारी छ । दोस्रो राष्ट्रिय महाधिवेशनको गीतमा सांस्कृतिक कार्यक्रमसमेत गरिने जानकारी बस्नेतले दिनु भयो । विराट नर्सिङ होमदेखि पूर्वतर्फ रहेको मैदानमा उद्घाटन गरिने महाधिवेशनको बन्दसत्र भने विराटनगर महानगरपालिका–३ स्थित मनासलु पार्टी प्यालेसमा हुने छ ।
बन्दसत्रमा ५ सय प्रतिनिधिसहित १ हजार जनाको सहभागिता रहने जनाइएको छ । ‘नेपाल खेलकुद महासंघ खेल क्षेत्रमा मुलुककै अगुवा र अभिभावकीय संगठन हो,’ बस्नेतले भन्नु भयो, ‘महासंघको महाधिवेशनलाई भव्यता प्रदान गर्न तयारी तीव्र रूपमा भइरहेको छ ।’ उहाँका अनुसार महाधिवेशनलाई लक्षित गरेर विभिन्न उप–समितिहरु गठन गरिएका छन् । बस्नेतकै संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन उप–समिति बनाइएको छ । त्यसबाहेक मूल समारोह तथा मञ्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, जनपरिचालन, खेलकुद प्रदर्शन, अतिथी सत्कार, आवास व्यवस्थापन, विधान मस्यौदा र आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ । ‘भव्यता प्रदान गरेर खेल क्षेत्रमै तरंग ल्याउने एउटा उत्सवका रूपमा महाधिवेशनको आयोजना हुने छ,’ बस्नेतले भन्नु भयो, ‘खेल क्षेत्रका लागि उचित नीति निर्माण, खेलाडीको प्रोत्साहन र संरक्षणमा हामी केन्द्रित हुने छौँ ।’
खेलाडीले खेल क्षेत्रबाट बाँच्नसक्ने अवस्था निर्माण गर्न आफूहरु सक्रिय भएर लागेको उहाँको भनाइ छ ।