विराटनगर २९ माघ । विराटनगर ५ को एभरेष्ट स्कुल तथा कलेजको तीन दिने ‘ एभरेष्ट कार्निभल’ सम्पन्न भएको छ । तीन दिन सम्म लगातार कलेजले कार्यक्रम गरेर बार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
माघ २७ गतेदेखि शुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । पहिलो दिन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाको प्रमुख आतिथ्यतामा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थी र तिनका अभिभावककावीच दिवस मनाईएको कलेजका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार दोस्रो दिन कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितीमा प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा अभिभावक दिवस मनाईएको थियो । आज तेश्रो दिन विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा सांगितिक कार्यक्रम गरिएको छ । कलाकारहरु कालिप्रसाद बाँस्कोटा, रचना रिमाल, अञ्जु गौतमले प्रस्तुती दिएका थिए । एभरेष्ट स्कुल तथा कलेजका विद्यार्थीहरुको पनि प्रस्तुती रहेको बताईएको छ ।
‘एभरेष्ट कार्निभल’मा विद्यार्थीहरुले तयार पारिएका ५० भन्दा बढी विज्ञान, गणित तथा व्यवस्थापन विषयसँग सम्बन्धित परियोजनाहरुको प्रर्दशनीमा राखिएको थियो । १८ वटा स्टलहरुमा विभिन्न अन्वेषणात्मक परियोजनाहरुको प्रर्दशनी, कला प्रदर्शनी, मिनि म्युजियम, पुस्तक प्रदर्शनी, विद्यार्थीहरुद्वारा सञ्चालित खानाका स्टलहरु, फेस पेन्टिङ स्टल, एभरेष्ट एचिभमेन्ट ग्यालरीका साथै नोवल अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत गरिएको प्राचार्य टिकाराम पुरीले बताउनुभयो ।