विराटनगर २७ माघ । नेपाल राष्ट्र बैंकले साना ऋणीप्रति उदारता देखाएका छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै २ करोडसम्म ऋण लिएको साना ऋणीलाई कर्जाको पुनर्संरचना र पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । गत साउनमा सार्वजनिक भएको मौद्रिक नीतिले लिएका कसिलो कार्यदिशालाई निरन्तरता दिएको केन्द्रीय बैंकले नगद प्रवाहका कारण समस्यामा परेका साना ऋणीलाई भने संरक्षण गर्ने नीति लिएको हो ।
सजगतापूर्वक कसिलो मौद्रिक कार्यदिशा लिइएका कारण शोधनान्तर स्थितिमा क्रमशः सुधार आउन गई २०७९ असोजदेखि बचतमा रहन थालेको राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा उल्लेख गरेको छ । बाह्य क्षेत्रमा सुधार हुँदै गएको भएपनि जोखिम कायमै रहँदा कसिलो मौद्रिक औजार निरन्तरता दिनुपर्ने अवस्था रहेको थियो । अर्काेतिर शिथिल बन्दै गएको अर्थतन्त्रमा ऋणीको संरक्षणमा राष्ट्र बैंक प्रतिबद्ध रहेको सन्देश पनि दिन खोजेको डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् । केही वस्तुहरुको आयातमा लगाइएको प्रतिबन्ध र प्रतीतपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्बन्धी व्यवस्था पूर्ण रुपले हटाइएको सन्दर्भमा आयात पुनः बढ्न गई बाह्य क्षेत्रमा दबाब पर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकले जनाएको छ ।
साथै उपभोक्ता मूल्य वृद्धिदरमा केही कमी आउन थालेको भएपनि औसत मुद्रास्फीति अझै पनि लक्ष्यभन्दा माथि रहेकोले चालु वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।