विराटनगर, २५ चैत । सुनसरीको भाण्टाबारीमा रहेको सूचनाकेन्द्र प्रभावकारी बन्दै गएको छ ।
प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र साझा सवालका लागि साझा मञ्च (कोकन) को अग्रसरतामा स्थापित सूचना केन्द्रबाट १० हजार ३७८ जनालाई सूचना प्रवाह गरिएको कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सूचना केन्द्र मार्फत देशका विभिन्न जिल्लाका ११८ जनाको उद्धार गरिएको छ । मानव वेचविखनमा संलग्न ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा ओसारपसार बिरुद्धको मुद्धा दर्ता भई कानुनी कारबाही भई रहेको उहाँले बताउनुभयो ।
सुनसरी कोशी गाँउपालिका ८ स्थित कोशी ब्यारेजमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध क्रस बोर्डरका संयन्त्रसँगको समन्वय बैठकमा कार्यक्रम संयोजक पौडेलले सो जानकारी गराउनु भएको हो । ‘ मानव बेचविखन विरुद्धको अभियान, रोकथाम नै समाधान’ भन्ने नाराका साथ प्लान इन्टरनेशनलको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना तथा मानव वेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेजलको अध्यक्षतामा मानव बैचविखन तथा ओसारपसार विरुद्धका क्रस बोर्डर समन्वय बैठक गत बुधवार गरिएको छ ।
मानव बेचविखन तथा ओसारपसार विरुद्धको क्रस बोर्डर समन्वय बैठकमा सीमापार मानव बैचविखन तथा ओसारपसारको अवस्था अनुभव आदानप्रदान वर्तमान अवस्था, भारतीय अधिकारीसंगको समन्वय बैठक, मानव बेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला स्तरीय रणनीति अनुमोदन प्रकृयालगायतका विषयमा छलफल गरीऐको थियो । कार्यक्रममा अधिवक्ता एवं कोकन नेपालका सल्लाहका कोषराज न्यैपानेको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा सहायक प्रजिअ पौडेलले सुनसरीको सीमा क्षेत्रबाट हुने गरेको मानव बेचविखन तथा ओसारपसारमा कमी आएको बताउनुभयो । मानव बेचबिखन पछिल्लो समयमा जटिल समस्याको रुपमा रहेको बताउदै यसलाई न्युनीकरण गर्न सबै पक्ष लागुगर्नुपर्नेमा उनको जोड थियो ।
साझा सवालका लागि साझा मञ्च (कोकन) अध्यक्ष मञ्जिता उपाध्यायले सीमा क्षेत्रबाट हुने मानव बेचविखनमा पहिलेको तुलनामा कमी आएको बताउनुभयो । सीमा क्षेत्रमा हुने लागुऔषध , मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न आफुहरु कटिबद्ध भएर लागेको सशस्त्र प्रहरी बल बिओपी भण्टावारीका प्रहरी निरीक्षक भुवन खडकाले दाबी गर्नुभयो ।
कार्यक्रममा बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डे, सीमा प्रहरी चौकि भण्टावारीका इन्चार्ज सई नागेश्वर थानादार, प्रहरी चौकी कोशी ब्यारेजका सई निरोज कार्की, कोशी गाँउपालिका ८ अवस्थित रहेको सुचना केन्द्रकी परामर्शदाता बालकुमारी वि.क, मानव अधिकारकर्मी प्रल्हाद आलम , कोशी गाउँपालीका क्षेत्रका अभिभावकवर्ग ,मानव अधिकारकर्मी स्थानीयवासी, सुरक्षाकर्मी, अभियन्तालगायतको उपस्थिति रहेको थियो ।