विराटनगर २३ माघ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनु भएको छ ।
व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने प्रस्ट पार्नुभयोे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिक चोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो ।
महानगरले पुरानो जलजलाहल उत्तर, शनिमन्दिर पूर्व–दक्षिण, गुद्री, बुधहाटचोकको वी–प्लटसहित विभिन्न स्थानमा पार्किङको व्यवस्थापन मिलाएको छ । बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको समेत उहाँले सुनाउनुभयो । सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको उहाँको भनाइ थियो ।
उपप्रमुख शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेको प्रति खुसी व्यक्त गरेको बताइन् । उनले विराटनगर बनाउने अभियानमा साथ दिन व्यापारीहरूलाई आग्रहसमेत गर्नुभयो । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको सुनाउनुभयो । कार्यक्रममा पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
सडकमा पार्किङ गर्न नदिँदा व्यापार व्यवसाय चौपट्ट भएको भन्दै व्यापारीहरूले महानगरको ध्यानाकर्षण गराएका छन् । छलफलमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार संघका महासचिव अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीलगायतको सहभागिता रहेको थियो ।
महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै उनीहरूले सडकमा पार्किङ गर्न दिएर सवारी साधनलाई एकतर्फी सञ्चालन (वान वे) बनाउन आग्रह गरेका थिए ।