डीआईजी ज्ञवालीद्वारा तालिम केन्द्रको निरीक्षण

विराटनगर, २२ माघ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले आज विराटनगरस्थित प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गर्नु भएको छ ।

प्रदेशको प्रहरी प्रमुख बनेर आएपछि ज्ञवालीले प्रहरी कर्मचारी उत्पादनस्थलका रूपमा रहेको तालिम केन्द्रको पहिलोपटक स्थलगत निरीक्षण गर्नु भएको हो । त्यस क्रममा उहाँले केन्द्रका सम्पूर्ण शाखा, मेश तथा ब्यारेकहरुको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिनु भएको छ । उहाँले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिका लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रको भूमिका अहम हुने बताउनु भयो ।

प्रहरी संगठनको सक्षम तथा प्रभावकारी उपस्थितिलाई कायम राख्न तालिम केन्द्रको प्रशिक्षण पद्धतिमा समयानुकूल परिवर्तन हुन जरुरी रहेको ज्ञवालीको भनाइ छ । साथै योग्य र दक्ष जनशक्ति छनोट गरेर उचित प्रशिक्षण प्रदान गर्न सक्दा मात्रै कार्यक्षेत्रमा प्रहरी कर्मचारीले संगठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने उहाँले बताउनु भयो ।

अनुशासन प्रहरी संगठनको गहना भएको बताउँदै डीआईजी ज्ञवालीले तालिम केन्द्रमा प्रशिक्षकको अनुशासन र लगावको प्रत्यक्ष प्रभाव एवं तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीको कार्य सम्पादनस्तर निर्धारण गर्ने उल्लेख गर्नु भयो । सामूहिक प्रयासले नै सफल प्रशिक्षक एवं प्रशिक्षार्थी हुन सबैलाई मद्धत पुग्ने उहाँको धारणा छ । विराटनगरको तालिम केन्द्रलाई देशकै नमुना तालिम केन्द्रका रूपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न ज्ञवालीको निर्देशन छ ।

ज्ञवालीले यसअघि मोरङ, सुनसरीलगायत विभिन्न जिल्ला प्रहरी तथा इलाका प्रहरी कार्यालयसहितका प्रहरी युनिटहरुको निरीक्षण गरिसक्नु भएको छ ।