राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

विराटनगर विमानस्थलमा एमाले अध्यक्ष ओलीलाई स्वागत गर्दै विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्की

विराटनगर १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताउनु भएको छ । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाई छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयोे,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्काे उम्मेदवार नहुने उहाँको भनाई छ ।

पुस १० गतेको सहमति अनुसार सत्तापक्ष चल्नु पर्ने एमाले अध्यक्ष ओलीको भनाई छ । अहिले बाहिर देखिए जस्तो समस्या सरकार सञ्चालनमा नदेखिएको उहाँको जिकिर छ । एमाले अध्यक्ष ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) लाई दिने पूर्वसहमति अनुसार उसैलाई दिनु पर्ने बताउनुभयो । पुस ११ गतेको सहमति गृहमन्त्री रास्वपालाई दिने सहमति भएको र सोही सहमति अनुसार गृहमन्त्री उसैलाई दिनु पर्ने अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले भन्नुभयोे,‘ गृहमन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कसलाई पठाउँछ उसको कुरा हो ।’

नागरिकता प्रकरणमा रास्वपाका सभापति समेत रहेका रवि लामिछाने पदमुक्त भएपछि गृहमन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाली रहनु भएको छ । रास्वपाले गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने बताउँदै आएको छ । एमाले अध्यक्ष ओलीले पनि सहमति अनुसार गृहमन्त्री रास्वपालाई नै दिनु पर्ने बताउनु भएको हो ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालमा असाधारण राजनीतिक अस्थिरता रहेको बताए। नेपालमा प्रजातन्त्र स्थापना पछि देखि नै स्थिरता हुन नसकेको उहाँको भनाई छ ।