महानगरका मेयर कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेटवार्ता

विराटनगर १९ माघ । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताउनु भएको छ ।

विराटनगर महानगरका प्रमुख नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिनुभयो । “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो,” थोम्सनले भन्नुभयोे । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले जिज्ञासा राखेका थिए । उहाँले विराटनगर महानगरको न्यायिक समितिले गरेका कामकारबाहीप्रति चासो राख्नु भएको थियो ।

राजदूत थोम्सनले खुल्ला सिमानाका कारण महानगरवासीले भोग्नुपरेका समस्या, मानव बेखविखनका बारेमा पनि जानकारी लिएको प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । नवोदितका अनुसार थोम्सनले विराटनगरको विकासका लागि दूतावासका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । भेटमा महानगरका प्रमुख नागेश कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाउनुभयो । उहाँले केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको जानकारी गराउनुभयो । दुवै खोलामा तटबन्धन निर्माणपछि मात्रै विराटनगरको डुबान समस्या समाधान हुने उहाँको भनाइ थियो ।

विराटनगर प्रदेशको स्वास्थ्य र शिक्षाको केन्द्र रहेको उहाँले सुनाउनुभयो । अध्ययनका लागि काठमाडौंपछि सबैभन्दा बढी विद्यार्थी विराटनगरमा आउने गरेको उहाँको दाबी थियो । उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराउनु भएको थियो । उपप्रमुख कार्कीले न्यायिक समितिले गरेका काम र अनुभव सुनाउनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरको विकासका लागि चुनौती र अवसरका विषयमा प्रकाश पार्नुभएको थियो ।