पीएलओमा अल्फाको लगानी, ५ लाख कित्ता शेयर जारी गरिने

विराटनगर १९ माघ । पूर्वाञ्चल ल्युव आयल ( पीएलओ) ले सर्वसाधारणका लागि ५ लाख कित्ता शेयर जारी गर्ने भएको छ । पीएलओको आईपीओ आगामी साउनमा आउने भएको छ ।

५ लाख कित्ता मध्ये ५० हजार सुन्दरहरैचाका बासिन्दाका लागि र ५० हजार पीएलओका कर्मचारीका लागि छुट्याईएको छ । शेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको छ । बुधबार साँझ सुन्दरहरैचामा आयोजित कार्यक्रममा सो नियुक्ती सम्वन्धि समझौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा पूर्वाञ्चल ल्युव आयल लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रवन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गर्नुभयोे । यस्तै पीएलओमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने भएको छ । विशिष्टीकृत लगानी कोष नियमावली २०७५ बमोजिम अनुमति प्राप्त अल्फा र पीएलओवीच लगानी गर्ने सम्वन्धि सम्झौतामा बुधबार हस्ताक्षर गरिएको छ ।

अल्फाका तर्फबाट प्रवन्ध सञ्चालक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रवन्ध सञ्चालक दुलालले हस्ताक्षर गर्नुभयोे । अल्फाको लगानी पछि पीएलओमा नयाँ ल्युब्रीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारमा उल्लेख्य मात्रमा विक्री हुने दुलालको भनाई छ ।

सुन्दरहरैचा ९ मा रहेको पीएलओले २३ वर्षदेखि आफ्नो उत्पादन तथा विक्री वितरण नेपालभर ९३ भन्दा बढी डिलर, ११ हजार बढी खुद्रा व्यापारी तथा २ लाख बढी ग्राहकले उपयोग गरिरहेको प्रवन्ध सञ्चालक दुलालले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे,‘ विदेशबाट विभिन्न ब्राण्डका आयातित ल्युब्रीकेन्टलाई प्रतिष्थापन गर्दै आएको छ ।’ उहाँका अनुसार पीएलओले विभिन्न ब्राण्डका ल्युब्रीकेन्टका उत्पादनहरु विक्री वितरण गरिरहेको छ । दुलालले भन्नुभयोे,‘ अल्फाको लगानी पछि नेपाली कम्पनीबाट उत्पादन तथा विकास गरेको ल्युब्रीकेन्टलाई प्रोत्साहन हुने छ ।’