मोरङमा काँग्रेस बाहेकको गठबन्धनको तयारी

विराटनगर, २५ चैत । मोरङमा नेपाली काँग्रेस बाहेकको गठबन्धनको तयारी गरिएको छ । जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले काँग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले काँग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने उहाँले बताउनुभयो । माओवादी केन्द्रका नेता गणेश उप्रेतीले काँग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको बताउनुभयो ।

नेपाली काँग्रेस भित्र तालमेल गर्नु नहुने पक्षमा मत बलियो बन्दै गएको नेताहरुले बताएका छन् । मोरङमा आफ्नो शक्ति बलियो रहेको आंकलनसहित काँग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ । यहीक्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन् ।

मोरङमा एक महानगर सहित १७ वटा स्थानीय तह छन् । विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका ९ वटा स्थानीय तह जितेको थियो । एमालेले पथरीशनिश्चरे र बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिका जितेको थियो । रंगेली नगरमा माओवादीले र जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादीले जितेको थियो ।