प्रदेश १ को सभामुखमा निर्वाचित बाबुराम गौतमद्धारा पदभार ग्रहण

विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । ओखलढुंगाको ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित ५० वर्षीय गौतम प्रदेशको दोस्रो सभामुख बन्नु भएको हो ।

सभामुखको मनोनयनका क्रममा गत मंगलबार सत्तारुढ गठबन्धनका तर्फबाट उहाँको मात्रै उम्मेदवारी परेको थियो । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार उठाएनन् । सभामुख चयन गर्न आज प्रदेशसभा बैठक बसेको थियो । सोही बैठकबाट प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवारीका आधारमा गौतम सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

सो घोषणासँगै उहाँ प्रदेशसभाको दोस्रो कार्यकालका लागि सभामुख बन्नु भएको छ । उहाँले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरि पदभार ग्रहण गर्नुभएको छ । प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नु भएका गौतमकै अध्यक्षतामा अब प्रदेशसभा बैठक सञ्चालन हुने छ । प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा (एमाले)का प्रदीपकुमार भण्डारी सभामुख हुनुहुन्थ्यो । उपसभामुख चयनका लागि भने आगामी शनिबार निर्वाचन हुँदैछ । सत्तारुढ दलबीचको भागबण्डामा उपसभामुख एमालेले पाएको छ ।

एमालेले महिलालाई उपसभामुख बनाउने तयारी गरेको छ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई र मोरङकी मालती सुब्बामध्ये एक जना उपसभामुख बन्ने सम्भावना रहेको स्रोतले बतायो । स्रोतका अनुसार सभामुख पुरुष भएकाले उपसभामुख महिलालाई बनाउनुपर्ने दबाब एमालेलाई परेको हो । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्री भइसक्नु भएको छ ।

कार्कीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । जसमा सत्तारुढ गठबन्धनभित्रका दलहरु एमालेका ४०, माओवादीका १३, राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)का ६ र जसपा (जनता समाजवादी पार्टी)का १ जना सांसद छन् । कांग्रेसका २९ र एकीकृत समाजवादीका ४ जना सांसद छन् ।