प्रदेश १ को चौथो मुख्यमन्त्री कार्की को हुन ?

विराटनगर २४ पुस । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेशसभाको सवैभन्दा ठुला दल नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा आईतबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

प्रदेश १ सरकारको संस्थापक आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीको २०२१ साल असोज ११ गतेका दिन झापाको गौरादह ३ मा जन्म भएको हो । विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतीमा प्रवेश गरेका थिए । पार्टी सम्पर्कमा भने २०३६ साल तिर मात्रै आएका थिए । महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट कानुन शास्त्रमा प्रविणता गरेका कार्कीले उच्च शिक्षा नेपाल ल कलेजबाट शुरु गरेका थिए ।

कानुनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डु, बाग्मती अञ्चल कमिटीको भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रिय अध्यक्षको जिम्मेवारीमा पुगेका थिए । नेपाल ल क्याम्पसको स्वतन्त्र विध्यार्थी युनियनको सभापति समेत भएका उनी विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा भएको नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएक थिए । पार्टीको ५ राष्ट्रिय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमाण्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसंगै महत्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहनु भएको छ ।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछी कार्की २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरीसकेका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पाटीएको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी,प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका निर्वाह गरेका छन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए ।