प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

विराटनगर २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनु भएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा खावी पेश गर्नुभएको हो ।

सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले दिएको एक साताको समय सीमाको अन्तिम दिन एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थन सहित आईतबार दिउँसो ४ ः २० मा दावी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । बहुमत प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री कार्कीको सपथ ग्रहण भोली २ बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

सरकार गठनका लागि समर्थन गर्ने सवै दलका एक–एक सदस्य रहने गरि मन्त्रिपरिषद् गठन गर्ने उहाँको भनाई छ । प्रदेशसभाबाट विश्वासको मत पाएपछि मात्रै पूर्ण आकारको मन्त्रिपरिषद् गठन गरिने उहाँले बताउनुभयो ।