प्रदेश १ मा नयाँ सरकार गठनको प्रकृया शुरु भएसँगै मन्त्रीमा तेर्हथुमका किशोरचन्द्र दुलालको चर्चा

इटहरी २२ पुस । प्रदेश १ मा नयाँ सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि लविङ थालेका छन् ।

यसैबीच तेह्रथुम प्रदेशसभा (क) मा नेकपा एमालेबाट निर्वाचित भएका किशोरचन्द्र दुलालको नाम समेत चर्चामा आएको छ । शिक्षण पेशा छाडेर नेकपा एमालेको राजनीतिमा होमिएका दुलाल हाल नेकपा एमालेको प्रदेश कमिटी सचिवालय सदस्य हुनुुहुन्छ । तेह्रथुम प्रदेशसभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष लिम्बूलाई २ सय १७ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएका दुलालसँग जिल्ला विकास समिति तेह्रथुमको सभापति भएको अनुभव समेत छ । २०५४ सालमा जिल्ला विकास समिति तेह्रथुमको सभापति भएर काम गसिक्नु भएका दुलाललाई प्रदेश १ सरकारमा मन्त्री बन्न सक्ने अनुभव र खुबी भएका व्यक्तिको रुपमा लिइन्छ । पुराना, त्यागी, निष्ठावान व्यक्तित्वका रुपमा परिचित दुलाल सुशासन र पारदर्शितालाई महत्व दिनुहुन्छ । सरल र इमान्दार नेता तथा समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने भएका कारण कतिपयले भने दुलाल सभामुखका लागि उपयुक्त पात्र रहेको बताउने गरेका छन् ।

नेकपा एमालेको राजनीतिमा विभिन्न आरोह अवरोह आउँदा समेत अविचलित रुपमा पार्टीमा रहेर संकटको बेला पार्टी बचाउने नेताको रुपमा समेत दुलाललाई लिने गरिएको छ । खासगरि तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भवानी खापुङ माधव नेपालसँगै पार्टी फुटाएर जाँदा तेह्रथुममा नेकपा एमाले बचाउने केही नेतामध्येमा दुलाल मुख्य हुनुहुन्छ । केपी ओली पक्षका नेता भएकै कारण लामो समयसम्म पछाडी पारिएका दुलाललाई यसपटक मन्त्री बनाएर न्याय दिने संभावना रहेको एमालेका नेताहरुले बताउने गरेका छन् । तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधिसभातर्फका १ र प्रदेशसभातर्फका २ गरि ३ जना उम्मेदवारमध्ये दुलाल मात्र विजयी भएर तेह्रथुममा नेकपा एमालेको बिउ जोगाउन सफल हुनु भएको थियो । त्यसकारण मन्त्रीमा धेरै जनाको आकांक्षा भएको अवस्थामा सभामुखमा समेत दुलालको संभावना रहेको बुझिएको छ । यता दुलालले समेत पार्टीले आफुलाई न्याय गर्नेमा ढुक्क रहेको बताउनु भएको छ ।