चार वर्षदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालन

विराटनगर ६ पुस । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो ।

महानगर प्रमुख नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । मर्मतपछि ब्रुमरबाट आज कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाई गरिएको छ । ब्रुमरले सफा गरेपछि दमकलबाट सडक पखालिएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर कोइरालाको योजनाअन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको छ । मंगलबार एयरपोर्ट रोड पखालिएको थियो । ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिनेछ । लामो समयदेखि थन्किएको ब्रुमर मर्मतपछि कञ्चनबारीचोकदेखि पश्चिम नहरसम्मको सडक सफा गरेर परीक्षण गरिएको छ ।

‘बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भन्नुभयोे, ‘अझै केही सानातिना समस्या रहेको छ । अझै परीक्षण गरेर समस्या देखिए मर्मत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।’

सफाई अभियानमा प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ४ का जितन थापा, वडा सदस्य, महानगरको सरसफाई महाशाखा प्रमुख पुनम दाहाललगायतको सहभागिता थियो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो ।