जनताको आवश्यकता र चाहना अनुसार काम सकेनौं : मुख्यमन्त्री राई

विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले संचार क्षेत्रलाई अत्यन्त महत्व दिएको बताउँदै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न नसकेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले पत्रकार महासंघको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको भन्दै लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवि पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुको पेशागत सुरक्षा हुनु पर्ने धारणा राख्नुभयो ।