विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो । ३० जना चिकित्सक, १६ जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन, १७ जना अनमी, ६ जना फार्मेसी सहायक, ६ जना ल्याबटेक्निसियन, ४० जना कार्यालय सहयोगी, २ जना खरिदार, २ जना मुखिया, २ जना चालकसहित १ सय २५ जना कर्मचारीलाई विकास समितिले करारमा नियुक्त गरेको छ र उनीहरुले कात्तिक र मंसिरको तलब पाउन सकिरहेका छैनन् । २ महिनादेखि तलब उपलब्ध नगराएको भन्दै चिकित्सक र कर्मचारी आन्दोलित बनेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
२ महिनासम्म तलब नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताउनु भयो । ‘काम गरेको दुई महिना पुरा भयसक्यौं । अहिलेसम्म तलब पाएको छैन । करारमा नियुक्त भएका कर्मचारीले मात्र तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ उहाँले भन्नु भयो, ‘आज सांकेतिक रूपमा आन्दोलनमा उत्रिएका छौं । तत्काल तलबको व्यवस्था नगरिए चरणबद्ध आन्दोलन गर्छौँ ।’
भोलि कालोपट्टी बाँधेर बिरामीको उपचार गर्ने र पर्सि मंगलबार पनि तलब दिने वातावरण नभए अस्पताल परिषर बाहिर बसेर बिरामीको उपचार गर्ने चेतावनी चिकित्सकले दिएका छन् । अस्पतालले विगत सात वर्षदेखि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिएको छैन । ‘भत्ता पाउनु त परको कुरा भयो । काम गरेको सेवा सुविधा लिन पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ डा. खड्काले भन्नु भयो । कोसी अस्पताल विकास समितिको बैठक २ महिनादेखि बस्न सकिरहेको छैन । बैठक नबसक्दा करारमा नियुक्त भएका कर्मचारीले तलब नपाएका हुन् ।
कोसी अस्पतालमा डा. लक्ष्मीनारायण यादव निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर आएदेखि विकास समितिको बैठक बसेको छैन । विकास समितिको बैठकले कारारमा नियुक्त भएका चिकित्सक र कर्मचारीको म्याद थप गरेपछि उनीहरुले तलब पाउने व्यवस्था छ ।