मोरङको कटहरीमा एम्बुलेन्स चालकमाथि आक्रमण

विराटनगर, २३ मंसिर । मोरङको कटहरी गाउँपालिका–२ मा गयराति एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ ।

जहदा गाउँपालिका–४ की एक जना गर्भवतीलाई प्रसूतिका लागि विराटनगरको कोसी अस्पताल ल्याउँदै गरेको को १ च ४०७९ नम्बरको एम्बुलेन्सलाई सडकमै रोकेर चालकमाथि आक्रमण गरिएको हो । चालक विराटनगर महानगरपालिका–७ का ३७ वर्षीय चन्दन मुखियालाई राति ८ः३० बजेतिर आक्रमण गरिएको प्रहरीले जनाएको छ । आक्रमणबाट आँखालगायतका अंगमा चोट लागेका मुखियाको कोसी अस्पतालमै उपचार गरिएको छ ।

आक्रमणकारीले तोडफोड गरेर एम्बुलेन्समा समेत क्षति पुर्याइदिएका छन् । मदिरा सेवन गरेर सडकमा १०/१२ जनाको समूहमा रहेका युवाले एक्कासि रोकेर आफूमाथि बिना कारण आक्रमण गरेको र एम्बुलेन्स तोडफोड गरिदिएको चालक मुखियाले बताउनु भयो । आफू असुरक्षित भएपछि तोडफोड गरिएको एम्बुलेन्ससहित वडा प्रहरी कार्यालय हाटखोलाको शरणमा पुगेको उहाँले बताउनु भयो । दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै मुखियाले आज जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनु भएको छ । कोसी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोक यादवले आक्रमणकारीलाई कारबाही हुनुपर्ने माग गर्नु भयो । दोषीमाथि कारबाही नभए एम्बुलेन्स सेवा बन्द गर्ने चेतावनी उहाँले दिनु भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले कटहरी–३ का २७ वर्षीय अजय कामतलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले एम्बुलेन्स चालकमाथि आक्रमण गरेको आशंकामा १ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो ।

सडकमा बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिन खोजेको भन्दै युवाहरुले सुरुमा चालकसँग विवाद गरेको र त्यसपछि घटना भएको पाइएको उहाँको भनाइ छ ।