विराटनगर, २२ मंसिर । विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरुले पनि साथ दिएका छन् ।
पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरु व्यापारीहरु आफैंले भत्काउन सुरु गरेका छन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरुले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो ।
महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । मेनरोडका व्यापारीहरुले आफ्नो पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचना धमाधम हटाइरहेका छन् । महानगरले आज पनि अवैध संरचना हटाउने अभियान सञ्चालन गरेको छ ।
अस्पताल चोक आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाइएको महानगरले जनाएको छ ।