विराटनगर २२ मंसिर । मोरङका जनप्रतिनिधिहरुसँग लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनीतिक सहभागिता अभिबृद्धि सम्वन्धि अन्तरक्रिया आज विराटनगरमा सम्पन्न भएको छ ।
इन्टरनेशनल फाउण्डेशन फर इलेक्टोरल सिस्टम ( आईएफइएस) नेपालसँगको साझेदारीमा दलित महिला केन्द्र नेपाल ( सीडिडब्ल्युएन) ले मोरङका ९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जीईएसआई) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको कार्यक्रम संयोजक निलम ढुङ्गेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय तहको नेतृत्वमा भर्खर आउनु भएका प्रमुख/उपप्रमुखहरुले आफ्नो अनुभव सहितको मन्तव्य तथा समूहगत प्रस्तुती गर्नु भएको उहाँले बताउनुभयो । सीडिडब्ल्युएनले शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत महिला जनप्रतिनिधिको नेतृत्व विकासमा सघाउ पुर्याउँदै आएको छ ।
जनप्रतिनिधि महिलाहरुलाई आफ्नो अधिकार तथा कामको बारेमा पनि जानकारी नहुने र त्यसले गर्दा योजना छनौट तथा कार्यान्वयनमा महिलाहरु तालि पड्काउने भूमिकामा मात्रै रहने भएकाले उनीहरुको व्यक्तिगत उत्थनशिलताको विकास, समस्याको विश्लेषण, नैतिकवान विकासका कुराहरुलाई परियोजनाले सघाउ पुर्याउँदै आएको मोरङ संयोजक ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रदेश १ का झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङका ३९ स्थानीय तहका ७३० महिला जनप्रतिनिधिको नेतृत्व विकासमा परियोजनाले सघाउ पुर्याउँदै आएको छ । मोरङका ग्रामथान, केराबारी, लेटाङ, बेलबारी, रंगेली, कटहरी, सुन्दरहरैचा, कानेपोखरी र उर्लाबारी नगरपालिकाका महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासमा परियोजना सञ्चालित रहेको संयोजक ढुङ्गेलले बताउनुभयो ।