विराटनगर, २५ चैत । मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले सरकारी गाडी नगरपालिकालाई फिर्ता गर्नु भएको छ ।
नगर प्रमुख राईले आफूले प्रयोग गर्दै आएको को १ झ ५१७ नम्बरको गाडीको चाबी हिजो प्रमुख प्रसासकीय अधिकृत अच्युतप्रसाद दाहाललाई फिर्ता दिनु भएको हो ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको र पार्टीले आयोजना गरेका चुनावी कार्यक्रममा आफू सहभागी हुनुपर्ने भएपछि सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको जानकारी उहाँले दिनु भयो । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहनु भएका राईले उक्त क्षेत्रमा पर्ने ४ वटै स्थानीय तहमा पार्टीको जित निश्चित गराउन आफू सक्रिय भएर लाग्ने बताउनु भयो ।
जनताको कामका लागि सरकारी गाडी प्रयोग गरे पनि पार्टीको काममा प्रयोग नगर्ने उहाँको भनाइ छ । लेटाङ–४ का वडाध्यक्ष सन्तोष कार्की र ८ का भीमप्रसाद पोखरेलले पनि आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गर्नु भएको छ ।
यसअघि तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले सरकारी गाडी फिर्ता गरिसक्नु भएको छ ।