विराटनगर, १८ मंसिर । छरिएर रहको वचत सङ्कलन गरि उत्पादनशिल कार्यमा लगानी गरि मुलुमा स्वरोजगार एवं उद्यमशील बनाउन सहकारीले सहयोग पुर्याएको वक्त्ताहरुले बताउनु भएको छ ।
विराटनगर–३ मा रहेको वुद्धोदय वचत तथा ऋण सहकारी संस्था लि को आज यहाँ आयोजित १४ औं बार्षिक साधारण सभामा सहभागीहरुले साना ऋृण लगानी गरी शेयर सदस्यहरुलाई घरेलु उद्योग स्थापना तथा रोजगार सिर्जनामा सहकारीको महत्वपूर्ण योगदान पुर्याएको धारणा राख्नु भयो ।
विसं २०६५ स्थापित सहकारीले आव २०७८/७९ मा रु ११ करोड एक लाख निक्षेप सङ्कलन गर्नुका साथै रु १२ करोड २७ लाख ३६ हजार ऋृण लगानीबाट रु एक करोड ९१ लाख ३४ हजार ४७४ मुनाफा आर्जन गर्न सफल भएको थियो ।
नव निर्वाचित प्रदेश सभा सदस्य भीम पराजुली साधारण सभाको उद्घाटन गर्दै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग एवं स्वरोजगार कायम गर्नका लागि आवश्यक शिप प्रदान गर्न सहकारी लाग्नु पर्नेमा जोड दिनु भयो ।
साधारण सभामा नागरिक उड्डयन कार्यालयका निवर्तमान निर्देशक राजकुमार क्षेत्री, विराटनगरका प्रमुख मिङ्गमा शेर्पा, भैरहवा प्रमुख गोविन्द दाहाल, वडा नं ३ का अध्यक्ष वासुबहादुर वस्नेत लगायतले शेयर सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको विचार राख्नु भयो ।
सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद खनालले बार्षिक प्रतिवेदन तथा लेखा संयोजक अविनाश निधिले लेखा प्रतिवेशन पेश गर्नु भएको थियो । सो अवसरमा जेष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो ।
सहकारीमा ४५७ महिला सहित ८५५ जना शेयर सदस्य रहेका छन् ।