विराटनगर ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती गरिदै

विराटनगर १४ मंसिर । विराटनगर वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएको छ । केही सडक स्तरोन्नतीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ ।

नं. ८ का जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ मार्ग कालोपत्रे, बाल गोपाल मार्ग नाला र ग्राभेल, देवकोटा चौक देखि सिंघिया खोला सम्मको नाला निर्माण, शंकर मार्ग नाला निर्माण, मधुवन मार्ग नाला निर्माण र राधाकृष्ण मन्दिर जाने सडकमा नाला निर्माणको प्रकृया शुरु भएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार सडकको स्तरोन्नतीसँगै सडक अतिक्रमण गरि बनाईएका संरचनाहरु पनि हटाउन शुरु गरिएको छ । उहाँले भन्नुभयो,‘सडक मापदण्ड भित्र बनेका संरचना हटाउनु पूर्व सूचना दिएर हटाउन शुरु गरिउको हो ।’ वडाक्षेत्र भित्रका सडकसँगै निर्माण भईरहेका भवनहरुलाई पनि चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरि काम भईरहेको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको भवन, शुशिल कोइराला फाउण्डेसनको भवन, बलुवाई सामुदायिक भवन र जेष्ठ नागरिक पार्कको निर्माण कार्य चालु आर्थिक वर्ष भित्रमा सकिने छ ।

लामो समयदेखि अलपत्र अवस्था रहेको पशुवधशालाको निर्माण कार्यलाई पनि चालु आर्थिक वर्ष भित्रमा गति दिईने उहाँले बताउनुभयो । पशुबधशाला निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी भएको उहाँले बताउनुभयो ।